जनता टाइम्स

३० मंसिर २०७७, मंगलवार २१:४६

पत्रकार डेकेन्द्रको हत्यामा संलग्न एक अभियुक्त पक्राउ


दैलेख, मंसिर ३०

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो ।

पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलवार जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो ।

पत्रकार थापाको श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा ९ जना तत्कालिन माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि तत्कालिन अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए । अन्य ४ जना भने जिल्ला अदालतबाट भएको फैसला अनुसार कैद भुक्तानी गरी मुक्त भैसकेका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो । पत्रकार थापालाई माओवादी कार्यकर्ताले नौमुले गाउँपालिका–३ मा हत्या गरी खाल्डोमा गाडेका थिए ।