काठमाडौं, पुस ३
काठमाडौं महानगरपालिका (कामपा) ले नयाँ वडा कार्यालय भवन निर्माण र तला थपको कामलाई तीव्र रूपमा अघि बढाएको छ । हाल कामपाको वडा ९, १४ ,१८ र २६ को भवन निर्माणपछि सेवा प्रवाह सुरु भइसकेको छ । वडा ३ र ४ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा २ को भवन निर्माण प्रक्रिया सुरु गरिएको छ ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार वडा ६ को पहिलो ढलान कार्य सम्पन्न भएको र वडा १२, १६, २१ र २९ को भवन निर्माणका लागि टेन्डर प्रक्रियामा छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन पुनः निर्माण, निर्माण र तला थप गर्ने योजनाअनुरूप काम अघि बढाइएको बताउँदै आएका छन् ।
गोरखा भूकम्पका कारण पुनर्निर्माण गर्न मिल्नेलाई निर्माण कार्य अघि बढाइएको छ भने मर्मत गरेर हुनेलाई मर्मतको काम र आवश्यकताअनुरूप तला थप गर्नुपर्नेलाई सोहीअनुरुपको काम पनि कामपाले गरिरहेको छ । सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण भइरहेको छ ।
सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान कामपाको छ ।
“कतिपय वडाका भवनमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेन्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ,” प्रवक्ता डङ्गोलले भने, “हाम्रै कार्यकालमा कामपाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको छ ।” वडा ८ मा सामान्य विवाद देखिएको छ । तीबाहेकका सबै वडामा विवादरहित ढङ्गले काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्