जनता टाइम्स

१४ पुष २०७७, मंगलवार १८:२१

प्रचलनमा आउँदै नेपालको नयाँ नक्सा अंकित सिक्का


काठमाडौं, पुस १४ । सरकारले कालापानी– लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैङ्कले नयाँ नक्सा अङ्कित सिक्का प्रचलनमा ल्याउने भएको छ । सरकारले नक्सा प्रकाशन गरी निर्देशन दिएपछि राष्ट्र बैंकले सिक्का प्रचलनमा ल्याउने गृहकार्य तीब्र पारेको हो ।

नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैङ्कले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा अङ्कित सिक्का टङ्कनको तयारी गरिरहेको जानकारी दिनुभयो । नापी विभागबाट लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा लिने काम भइरहेको बताउँदै उहाँले सिक्का छाप्न बोलपत्र आह्वान गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको स्पष्ट पार्नुभयो ।

‘मुलुकको नयाँ नक्सा अङ्कित सिक्का छाप्न मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृतिअनुसार एक रुपियाँ दरको सिक्का ३० करोडवटा र दुई रुपियाँ दरका १० करोडवटा छाप्ने तयारी भइरहेको छ,’ पोखरेलले भन्नुभयो । नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृतिसमेत प्रदान गरिसकेको छ ।