जनता टाइम्स

१६ पुष २०७७, बिहीबार १८:०९

राष्ट्रपतिबिरुद्ध आपत्तिजनक नारा लगाउने प्रचण्डकै बिश्वासपात्र भएको खुलासा, पक्राउ गर्न खटियो प्रहरी


काठमाडौं, पुष १६

राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध मानव समाज नै लज्जित हुने खालको नारा लगाउने प्रचण्ड–माधव नेपाल पक्षका नेताको पहिचान खुलेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको हो ।

प्रहरीकाअनुसार तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्ट रहेको जानकारी दिएको छ । उनको खोजीका लागि प्रहरी परिचालन भएको छ । राष्ट्रपतिकी छोरी उषाकिरण र नेकपासम्बद्ध महिला संघले प्रहरीलाई दोषीको पहिचान गरी कडा कारवाही गर्न माग गर्नुभएको थियो ।

बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए । जसको चर्को आलोचना समेत भईरहेको छ । फोटोमा भएका व्यक्तिले पनि नारा सो अभद्र नारा लगाएको र अन्यले साथ दिईरहेको प्रष्टसँग सुन्न सकिन्छ । उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ ।