जनता टाइम्स

२३ पुष २०७७, बिहीबार १२:४२

काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशत सकियो, बैशाख १२ गते उद्घाटन


काठमाडौं, पुष २३

काष्ठमण्डप पुनर्निर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ ।

निर्माणअन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताउनु भयो । आगामी वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउने गरी निर्माण सक्ने काम भईरहेको छ ।

निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । अपुग भएको काठ आगामी एक महिनाभित्रै ल्याउने तयारी भएको छ । छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ ।

पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ । यस ऐतिहासिक सम्पदा पुनर्निर्माणका क्रममा आवश्यक पर्ने काठ केही यसअघिकै प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसनसँग लिखित सम्झौता गरी ल्याइएको छ । यसअघि पनि आवश्यक पर्ने थप आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो ।