जनता टाइम्स

२७ पुष २०७७, सोमबार १८:१५

मधेशी जनतालाई प्रचण्डले धोका दिएका हुन्, धोका दिनेलाई हैन आफ्नो बोलीमा खडा भई उभिनेलाई साथ दिनुहोस् : प्रभु साह


कलैया, पुस २७

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले मधेशी जनतालाई केपी शर्मा ओलीले नभई प्रचण्डले धोका दिएको बताउनुभएको छ । आज नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका नेता साहले प्रचण्डले पटक–पटक मधेशलाई वाचा गर्दै पटक–पटक धोका मात्र दिएको जीकिर गर्नुभयो ।

प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म आउँदा पनि मधेशलाई फरक–फरक आश्वासन दिएको तर कुनै पनि पुरा नगरी धोका मात्र दिएको नेता साहले बताउनुभयो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशलाई झुटा आश्वासन दिनुको सट्टा विकासको एजेन्डालाई निरन्तर कायम राखेको नेता साहको भनाई छ ।

प्रचण्डले मधशेलाई आत्म निर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारी जस्ता एजेन्डा दिएको भएपनि हरेक कालखण्डमा आफ्नो निजी स्वार्थमा उपयोग गर्दै कुरा फेरेर धोका दिएको नेता साहले बताउनुभयो । अहिले मधेशले प्राप्त गरेको अधिकार पनि आफुहरुका कारण पाएको नेता साहको जीकिर छ ।

‘जब हामी जनयुद्धमा थियौं, त्यतिबेला प्रचण्डजीले आत्मनिर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारीका कुरा गर्नुहुन्थ्यो । सुरुमा झापादेखि कञ्चनपुरसम्म एउटै मधेश प्रदेश बनाउने भन्नुभयो, शान्ति प्रक्रियातिर आउँदा थारुवान र मधेश गरी दुई प्रदेश बनाउने भन्नुभयो । पहिलो संविधानसभामा पाँच वटा प्रदेश, दोस्रो संविधानसभाको संविधान निर्माणसम्म आईपुग्दा उहाँले संघीय गठबन्धनलाई धोका दिएर पहिचानको मुद्दा नै बेच्नुभयो ।’

नेता साहले थप्नुभयो,‘प्रचण्डजीले भनेजस्तो मधेशले न त आत्म निर्णयको अधिकार पायो, न त स्वायत प्रदेश, न त समान हिस्सेदारी पायो । आफ्नो स्वार्थ पुर्ति गर्न प्रचण्डले मधेशलाई निरन्तर धोका मात्र दिनुभएको छ । आज मधेशले जे जति पाएको छ त्यो तपाई हाम्रो बलमा आएको हो, नभए प्रचण्डजीले त्यो पनि बेचिसक्नु हुन्थ्यो ।’

उहाँले फेरी भन्नुभयो,‘केपीजीले सुरुदेखि अहिलेसम्म जे भन्नुभयो, त्यसमै उहाँको स्ट्यान्ड छ । उहाँले सधै मधेशलाई विकासको मात्र वाचा गर्नुभयो, जुन पुरा हुँदै गएको छ, त्यसैले म आग्रह गर्न चाहन्छु, धोका दिनेलाई हैन आफ्नो बोलीमा खडा भई उभिनेलाई साथ दिनुहोस् ।’