विराटनगर, माघ ८
प्रहरीले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्जलाई पक्राउ गरेको छ । शिक्षक श्रेष्ठको हत्याको सर्वत्र आलोचना भएपछि प्रहरीले हत्यारा खोज्न विशेष टोली नै परिचालन गरेको थियो ।
सोही टोलीले मिक्लाजुङ गाउँपालिका १ बर्खेका श्रेष्ठको हत्या गरी फरार रहेको आरोपमा डीबी सिववाल भनिने धनबहादुर बिकलाई पक्राउ गरेको हो । बिकलाई बुधबार बुढीगंगा गाउँपालिका ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कायालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाकारी दिनुभयो । पक्राउ परेका उनी मोरङको जिल्ला इञ्चार्ज रहेको प्रहरीको दाबी छ ।
५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान विप्लव समूहले हत्या गरेको थियो । शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची कोसी ब्यूरो सदस्य थिए । अहिले उनी मोरङ जिल्ला इञ्चार्ज रहेको बताइएको छ । हत्यामा ६ जना संलग्न रहेको र त्यसको अगुवाई बिकले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताउनु भयो ।
प्रहरीका अनुसार मोरङमा पछिल्लो समय उद्योगी व्यावसायीलाई चन्दा माग्दै विप्लव कार्यकर्ताले धम्की दिने गरेको विक पनि चन्दा संकलन गर्न आउँदै गर्दा पक्राउ परेका हुन् । बुढीगंगामा नै रहेको एक उद्योगका चन्दा संकलन गर्न बिक पुगेका थिए । पक्राउ परेका विकको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्