बैतडी, माघ २५
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको चिनजानकै मान्छेले बलात्कारपछि हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । उनको हत्याका लागि छानिएको स्थल, उनि आउजाउ गर्ने समय सबैकुरा बिचार गरेर गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।
गएको बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलको प्रकृति र शवको प्रकृतिका आधारमा प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी शवको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । रिपोर्टपछि विस्तृत आउने र अनुसन्धानमा थप सजिलो हुने बताइएको छ ।
घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । घटना बुधबार दिउँसो भएको प्रारम्भिक अनुमान छ । प्रहरीले शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि ६ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरुलाई छाडिएको थियो ।
प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । यसैबीच, प्रहरीले घटनालाई राजनीतिकरण नगरी अनुसन्धानमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्