जनता टाइम्स

३० माघ २०७७, शुक्रबार १३:१३

सीमामा सशस्त्र प्रहरीको दरिलो उपस्थिति, नेपाली भूमीमा बालुवा लिन आएका भारतीय तस्करसँग झडप


काठमाडौं, माघ ३०

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नेपाली भूमिबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने समुहमाथी कारवाही शुरु गरेको छ । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्करसँग सशस्त्र प्रहरीको झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

२४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय महेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ । ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसरी बालुवा चोरी गरिरहेका थिए

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरूपमा अवैध बालुवा उत्खनन् गर्न निक्कै पहिलादेखी थालेका थिए । उनिहरुले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको स्थानीयको भनाई छ । दैनिक एक हजारभन्दा बढी भारतीय ट्र्याक्टर अबैध रूपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन् गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरूको आरोप छ । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट र प्रहरीचौकीसमेत रहेको थियो ।

बालुवा चोरेर लैजान खोलामा रहेका भारतीय तस्करहरुका ट्याक्टरहरु

विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्ने क्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताउनु भयो । ‘विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनः अवैधरुपमा बालुवा निकाल्न थालेका छन्’, उहाले भन्नुभयो ।

केही दिनअघि दुई ट्र्याक्टर सशस्त्र प्रहरीले कब्जामा लिएको थियो । वारी पर्साको पिपडाडी गाउँ रहेको छ भने बारी भारतको भंगहा गाउँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषीमाथि कारबाही गरिने बताउनु भएको थियो ।