जनता टाइम्स

१ फाल्गुन २०७७, शनिबार १६:३७

बुटवलको सभा हेर्न आउन प्रधानमन्त्री ओलीको आग्रह


बुटवल, फागुन १

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुटवलको सभा हेर्नका लागि आउन अपिल गर्नुभएको छ । माघ २८ गते आयोजित सभामा प्रचण्ड–नेपाल समूहका नेताहरुले सभा हेर्न भृकुटीमण्डप आउन ओलीलाई आग्रह गरेपछि उहाले पनि सो समुहलाई सभा हेर्न आउन आग्रह गर्नुभएको हो ।

ठुलो संख्यामा उपस्थितलाई सम्बोधन गर्दै उहाले भन्नुभयो, ‘अस्ति तीन दिनअघि मात्रै देशभरिबाट मान्छे जम्म गरेर अलिकति मान्छे देखेपछि ‘सभा हेर्न यहाँ आउ केपी ओली’ भनेर केही मान्छेले भनेका थिए । म देशभरिको होइन, लुम्बिनी प्रदेशको सभा हेर्न उहाँहरुलाई बुटवल आउन आग्रह गर्छु । आउनुस्, जनसमर्थन कस्तो हुन्छ ? जनसहभागिता कस्तो हुन्छ ?’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधान अनुसार नै गरिएको दोहो¥याउनु भयो ।

उहाले अलोकतान्त्रिक, अस्थिरता निम्त्याउन पार्टी भित्रैबाट चलखेल भएकाले संविधानको धारा ७६ को १, ७ र धारा ८५ अनुसार विघटन गरेको बताउनु भयो । उहाले कामसँग डराएर विरोधीहरु सल्बलाएको बताउनु भयो । राष्ट्रियता र स्वाभिमानका विषयहरु अन्तराष्ट्रिय स्तरमा उठाएको बताउदै प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिदर तिव्र बनाएपछि विश्वको ध्यान केन्द्रीत भएको पनि उल्लेख गर्नुभयो ।