जनता टाइम्स

४ फाल्गुन २०७७, मंगलवार १५:२८

ओलीको साथमा उभिए कांग्रेस र जसपाका यी हस्ती


काठमाडौं, फागुन ४

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य किरण साह प्रवेश गर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आज बालुवाटारमै आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउनुभएको हो ।

साह रौतहट क्षेत्र नम्बर–२ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार दिनुभएको थियो । उहाँ कांग्रेसका अफताब आलमको निकटतम प्रतिस्पर्धी बन्नुभएको थियो ।

साहसँगै धनुषाका कांग्रेस नेता बलराम ठाकुर पनि नेकपा प्रवेश गरेको युवा संघका नेता सन्जिकुमार झाले बताउनुभयो । ठाकुर वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसअघि जसपाका नेता डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको थियो ।