धनगढी, ५ फागुन । १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।
भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्।
“भागरथीका बुबाले मेरी फुपीमाथि नराम्रो गरेका थिए । त्यसैको बदला लिन सडकबाट धकेलेर पछि घाँटी थिचेर मारेको हुँ । तर बलात्कार गरेको होइन”, उनको भनाई उदृत गर्दै प्रहरी स्रोतले जानकारी दियो । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेकोसमेत उनले बताएका छन् । मेडिकल रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको खुलेको प्रहरीले यसअघि बताउँदै आएको छ । पक्राउ परेका दिनेश भागरथीका आफन्त हुन् । तर, उनले बलात्कार गरेको अस्विकार गरेपछि विर्य परीक्षण गरिने भएको छ । यसअघि प्रहरीले कञ्चनपुरबाट एक सरकारी अधिकारीलाई पक्राउ गरेको थियो ।
भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ। आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो। घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिनु भएको छ ।
भागरथीका काका शिवराज भन्नुहुन्छ– भागरथी बेपत्ता भएको दिनदेखि हामी खोजीमा थियौँ । छिमेकी एउटा केटो केही डराए–डराएजस्तो देखिन्थ्यो । उसले बलात्कार र हत्या आफैँ गरेको वा देखेको हुन सक्ने हाम्रो विश्वास थियो । उसको असामान्य गतिविधि देखेर हामीले पनि निगरानी गरिरहेका थियौँ । भागरथीको बलात्कार र हत्याको विरोधमा भइरहेका विरोध प्रदर्शनमा पनि ऊ जाने गरेको थियो । समाजमा उसको पृष्ठभूमि नकारात्मक थियो । भागरथी र उसको घर नजिकै थियो, तर सम्बन्ध राम्रो थिएन । त्यसैले उसको परिवार बसाइँ सरेर एक किलोमिटर पर एकान्तमा गएको थियो । अहिले पुरानो रिसइबीको बहाना बनाएर यत्रो जघन्य अपराध गरेको छ । हामी धेरै दुःखी छौँ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।
कुन दिन के भयो
- पहिलो दिन (२१ माघ) : विद्यालय गएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बेपत्ता । विद्यालयबाट नफर्किएपछि परिवारले खोजबिन सुरु गरे ।
- दोस्रो दिन (२२ माघ) : साँझ घरबाट अढाई किलोमिटरनजिकै लवलेक जंगलमा शव भेटियो ।
- तेस्रो दिन (२३ माघ) : बलात्कारपछि हत्या गरेको आशंका गर्दै विद्यार्थीले आन्दोलन थाले । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धानमा जुट्यो ।
- चौथो दिन (२४ माघ) : घटनालाई लिएर आन्दोलन पनि चर्कँदै गयो । दोषी पत्ता नलगाएसम्म परिवारले शव बुझ्न मानेन । धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु ।
- पाँचौँ दिन (२५ माघ) : घटनास्थल पुगेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानलाई साँघुरो बनाइदिएको दाबी गरे । बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा ।
- छैटौँ दिन (२६ माघ) : पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि । बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । तर, घटनास्थलमा फेला परेको मोबाइल र भागरथीको फेसबुक एकाउन्टबाट सन्तोषजनक सुराग नमिलेको प्रहरीकै भनाइ ।
- सातौँ दिन (२७ माघ) : प्रहरीको भनाइ थियो, ‘स्थानीय बासिन्दाबाट पर्याप्त सूचना नआउँदा अनुसन्धानमा केही ढिलाइ भयो । मोबाइल र सामाजिक सञ्जाललाई आधार बनाएर अनुसन्धान हुँदै छ ।’
- आठौँ दिन (२८ माघ) : अनुसन्धान जारी । अनुसन्धानले गति नलिएकोमा परिवार, विद्यार्थी र स्थानीय असन्तुष्ट ।
- नवौँ दिन (२९ माघ) : विद्यार्थीले आन्दोलन तीव्र बनाए । प्रहरीद्वारा केही व्यक्तिलाई निगरानीमा राखेको जानकारी ।
- दशौँ दिन (३० माघ) : निर्मला पन्तदेखि भागरथी भट्टसम्मको बलात्कारपछि हत्याको विरोधमा राजधानीमा महिलाको सिंहदरबार मार्च । बैतडी सदरमुकाम गोठालापानीमा विद्यार्थीले थाल बजाएर विरोध गरे ।
- एघारौँ दिन (१ फागुन) : सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीकोे टोलीको अनुसन्धान जारी । शव जिल्ला अस्पतालमै । निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्रीको भनाइ छ ।
- एघारौँ दिन (२ फागुन) : अनुसन्धान जारी । सुदूरपश्चिम प्रदेश सभाका सामाजिक विकास समितिका सदस्यहरू घटनास्थल पुगे र परिवारसँग भेट गरे । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा परिवारलाई दुई लाख सहयोग ।
- बाह्रौँ दिन (३ फागुन) : अनुसन्धान जारी ।
- तेह्रौँ दिन (४ फागुन) : गृहमन्त्रीद्वारा अनुसन्धानमा नजिक पुगेको दाबी, बलात्कारपछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको साँझ पुष्टि ।













प्रतिक्रिया दिनुहोस्