डी.आर. घिमिरे
नेकपाका स्थायी कमिटीका सदस्य एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले यसअघि सामाजिक सञ्जालमा राजधानीका पत्रकारलाई सार्वजनिक आब्हान गर्दै भन्नुभयो–‘देशभरीको होइन एउटै प्रदेशका जनताको सहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ ।’
धेरैलाई सो स्टाटसले सोंचनीय बनायो होला । राजनीतिमा कहिलेकाँही बढाई चढाई अवश्यै गर्नुपर्छ । तर, पोख्रलको सो आब्हान वास्तविकतामा आधारित थियो । उहाँलाई यस प्रदेशको पार्टी इन्चार्जका हिसावले सबै पार्टी कसरी परिचालित थियो भन्ने कुराको हेक्का हुने नै भयो । सबै जिल्लाको रिपोर्टिङ्ग पनि थियो नै ।
त्यसवाहेक हरेक जिल्लाको सांगठनिक संरचनाको पनि जानकारी थियो । यसै आधारमा पार्टीले सोचेको जनसमुदाय बुटवलमा आयो । नेकपा टुटेको वा फुटेको अनुभूति फागुन १ गतेको जनसभा हेर्ने कसैले गरेनन् । पुस ५ गते यता विचलित र चिन्ताग्रस्त कार्यकर्तामा उत्साह थप्ने र फेरि पनि चुनावलाई डटेर सामना गर्ने अनुभूति गराएको छ ।
स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यसले कार्यकर्ताको साथ र सहयोग छ भन्ने अनुभूति गराएको छ । यस जनसभाले पार्टी मात्र हैन सिंगो मुलुक, सत्ता बाहिर रहेका दल तथा बाह्य शक्तिलाई दिएका सन्देशलाई यसरी सूत्रवद्व गर्न सकिन्छ ।
१. कार्यकर्ता नेताको पछि मात्र लाग्दैनन् :
अहिलेसम्म के प्रचार गरिदै आएको छ भने कार्यकर्ता नेताका पिछ लग्गु मात्र हुन् । उनीहरुमा विवेक हुँदैन । तर, यो सभाले सो कुरालाई अस्वीकार गरेको छ । नेकपामा नेताहरुको कमी थिएन । तीन जना पूर्व प्रधानमन्त्रीहरु एकातिर थिए भने पार्टीको मुख्य पदमा पुगेका मुखिया पनि थिए । जनयुद्वका कमाण्डर थिए । झलनाथ जस्ता शालिन र माधव नेपाल जस्ता कुटनीतिक र सादगी नेता थिए । नेपाललाई अन्तर्राष्ट्रिय पहुँच भएका नेता पनि मानिन्छ ।
त्यसैले त विदेशीसंग हार गुहार गरेका समाचार पनि आइरहेका छन् । पार्टीको सचिवालयमा वहुमत थियो । स्थायी कमिटी र केन्द्रीय कमिटीमा वहुमत थियो । एक हदसम्म यी कुरा सत्य थिए । यसैको वलमा आधिकारिकताको दावी पनि रहि आएको छ । तर, कार्यकर्ता विवेकशील रहेछन् । उनीहरु सत्यको पछाडि सतिशाल झैं उभिदा रहेछन् ।
पाँच वर्षका लागि निर्वाचन गरेर पठाएका नेताहरु सत्ता स्वार्थमा अल्झेर राजनीतिक अस्थिरता निम्त्याउने खेललाई कार्यकर्ताले मन पराएका रहेनछन् । नेताहरु आपसमा मिलेर सत्ता चलाउ भनेर सन्देश दिएका छन् । यो सन्देशलाई मान्ने हो भने अब निर्वाचनमा जानुको विकल्प छैन । अझै पनि अलग थलग भएर वस्नुभन्दा आत्मालोचनासहित एउटै पार्टीमा रहने कोशिस गरे हुन्छ ।
२.कार्यकर्तावाट चुनावको अनुमोदन :
सरकारले चुनावको घोषणा गरिसकेको सन्दर्भमा यसको औचित्यमाथि प्रश्न उठाइएको छ । खासगरी प्रचण्ड–नेपाल समुहहरु प्रतिगमन भएको घोषणा गर्दै सडक तताइरहेका छन् । केही विपक्षीहरु पनि यसमा साथ दिइरहेका छन् । विकास र सम्वृद्विको नेतृत्व गरेको यो सरकारका विरुद्व अरु कुनै मुद्वा नहोला भनेर यसैमा टेकेर जान खोज्दैछन् । तर, सरकारले गरेको चुनाव घोषणा लुम्विनी प्रदेशका कार्यकर्ता पंक्तिवाट अनुमोदित भएको छ । हुन पनि पहिलो अनुमोदन कार्यकर्तावाटै हुनुपथ्र्यो । भएको छ ।
३. अन्यौलमा रहेकालाई स्पष्ट हुने सन्देश :
पार्टीमा यस प्रकारको विग्रह आएपछि कैयौं कार्यकर्ता निरास छन् । पिडावोधमा छन् । यता कि उता भनेर अन्यौलमा छन् । निष्क्रिय हुनेको संख्या वढेको छ । विभिन्न गलत सन्देशको कारण भ्रममा पनि छन् । कतिपयले अदालतको फैसला कुरेर बसेका छन् । कसैले निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् । कतिपयले सूर्य चिन्हलाई पर्खेका छन् । यो जनसभाले ती सवै निरास, निष्क्रिय र यो वा त्यो निर्णय कुरेर वसेका नेपाल कम्युनिष्ट पार्टीका तमाम कार्यकर्तालाई आफ्नो वाटो तय गर्न स्पष्ट सन्देश दिएको छ । उनीहरुको पिडामा थोरै भएपनि मल्हमपट्टी लागेको छ ।
४. विर्सायो मंसीर ४ लाई :
बुटवलले खास–खास अवसरमा राष्ट्रिय मुद्वामा नेतृत्वदायी भूमिका निर्वाह गर्छ भन्ने कुरामा कसैको विमति छैन । चाहे ०४६/४७ को जनआन्दोलन होस्, चाहे ०६२÷०६३ को जनक्रान्ति होस् वा एकिकृत लुम्विनीको सवालमा होस् । कुरा त्यतमिात्र हैन विकासका सवालमा पनि रुपन्देहीले अगुवाई गर्दै आएको छ । प्रादेशिक संरचनामा गएपछि सिंगो लुम्विनी प्रदेशले यस प्रकारको अगुवाई गरेको छ भन्दा अन्यथा हुने छैन ।
राजाले सत्ता हातमा लिएपछि ०६३ सालमा पहिलोपटक बुटवलमा निस्केको विरोधसभाले मुलुक नै तताएको थियो । सो सभाले इतिहास रचेको थियो । यो पटक बहुचर्चित मंसीर ४ को सभालाई विर्साएको छ । अर्थात् बुटवलमा शायदै यति ठूलो सभा निस्केको थियो । कार्यक्रम सकिएपछि हामी (जिल्ला पार्टीका सहसंयोजक तेजेन्द्र केसीसमेत) घरतर्फ जाँदै थियौं ।
बुटवलवाट ५ किमिको सडक पार गर्न साढे दुई घण्टा लाग्यो । दोश्रो दिन पार्टी कार्यालयमा कुरा हुँदै गर्दा थाहा भयो कैयौं गाडीवाट जनसभामा आएका कार्यकर्ताहरु उत्रन सकेनन् । यो वाकीटाकीवाट प्रहरीले दिएको जानकारी थियो । कसैगरी कार्यक्रमस्थलमा आउँदै गरेकाहरु पनि सभामा पुग्न सकेनन् । भित्र वाहिर सबैतिर मान्छेको भिडनै भयो । पहिला आउँदैनन् भनेर खिसीट्युरी गर्नेहरुले पछि यति ठूलो खर्च गरेर मान्छे आसार्ने काम किन भनेर प्रश्न गरे ।
केही मिडियाले सुकुम्वासीलाई पूर्जा दिने लोभ देखाएर ल्याएकोसम्म भने । आधारहिन कुरा गरेर मान्छेको मनोविज्ञानलाई मोड्न खोजे पनि त्यसको कुनै तुक रहेन । यो सभाले पार्टी निर्माण गर्न जनताका वीचमा जानुपर्छ भन्ने देखाएको छ । पार्टी एकीकरण पश्चात् जिम्मा नपाएका कार्यकर्ताहरु पहिलोपटक घरदैलोमा गएर वास्तविकता बुझाउने अवसर पाए ।
५. मूल पार्टी ओली नेतृत्वको नेकपा :
यो सभाले कम्युनिष्टको मूल पार्टी ओली नेतृत्वको पार्टीनै हो भन्ने कुरा स्थापित गरेको छ । अव कसलाई मुल मान्ने भनेर शंका गर्नुपर्ने अवस्था छैन । विशाल कार्यकर्ताको पंक्ति भएको पार्टी भएकोले अव यसैले नेतृत्व गर्छ । आगामी चुनावमा यसकै नेतृत्व स्थापित हुन्छ । चुनाव चिन्ह सूर्य भए वा नभए यसलाई कुनै फरक पर्दैन ।
यद्यपि सूर्य चिन्ह कतै जाँदैन भन्ने कुराको संकेत निर्वाचन आयोगले दिइसकेको छ । किन कि पार्टी अध्यक्ष र महासचिव जुन पार्टीमा छन् त्यही पार्टी आधिकारिक हुन्छ । जहाँसम्म वहुमत र अल्पमतको सवाल हो अन्तरिम विधानले त्यस कुरालाई खण्डित गरेको छ । महाधिवेशन सम्म सहमतिमा जाने निर्णयले सोही कुराको पुष्ट्याई गर्दछ ।
६. निर्वाचन हुन्छ :
यो जनसभाले निर्वाचन हुन्छ र हुँदैन भन्ने कुरालाई एकहदसम्म टुंग्याएको छ । सरकारले चुनाव घोषणा गरेपछि स्वभावैले सरकार चुनावको पक्षमा हुनेनै भयो । शुरुदेखिनै सरकारले तदनुसारको तयारी गरेको छ । कांग्रेस आमरुपमा निर्वाचनको विरोधी छैन । मधेसका अधिकांश पार्टीहरु पनि चुनावको पक्षमा छन् । बाबुराम भट्टराई अहिलेको आन्दोलनका प्रणेता हुन् ।
त्यसवाहेक जो छैनन् उनीहरु अनिर्णयको वन्दी छन् । ढिलो चाँडो सहमतिमा आउन बाध्य हुनेछन् । प्रचण्ड–नेपालहरुको पार्टीनै वनेको छैन । अव निर्वाचन आयोगमा गएर पार्टी दर्ता गराए भने त्यतिवेला उनीहरुको पार्टीले के गर्छ भन्न सकिदैन । अहिले समुहको रुपमा चुनावको विपक्षमा छन् । यसो गर्नु उनीहरुको बाध्यता हो । जसको पार्टीनै बनेको छैन उनीहरु कसरी चुनावको पक्षमा हुन्छन् ?
पार्टी बनि हाले पनि संगठन निर्माण गर्ने कुरा धेरै टाढाको कुरा भयो । त्यसैले हार्ने चुनावको पक्षमा हुन पर्ने जरुरी छैन । त्यस अर्थमा अब चुनाव नहुनु पर्ने कारण एउटै छ, त्यो हो अमुक पार्टीले हार्ने चुनाव किन गर्ने भनेर तदनुसारको वातावरण बनाएमा । सम्भवतः यसो गर्नु सम्भव छैन । त्यस अर्थमा चुनाव हुने वातावरण वन्दै गएको पाइन्छ ।
७. प्रतिवद्व कार्यकर्ता साइवर स्याल मात्र हैनन् :
कतिपय नेताहरुले नेकपाका प्रतिवद्व कार्यकर्तालाई साइवर सेनाको स्यालहुइया भनेर उछितो काडेका छन् । उनीहरुले टुटु फुट र विभाजनलाई स्वीकारेनन् । पद प्रतिष्ठालाई लिएर हुने संघर्षलाई पनि अनुमोदन गरेनन् । बरु त्यस्ता गलत क्रियाकलापलाई डटेर सामाना गरिरहेका छन् । नेताहरुका वोली भाषणलाई मिडियाले प्राथमिकता दिनेनै भए । बाँकी कार्यकर्ताले कहाँ गएर आफ्नो गुनासो सुनाउने ?
सधैभरी आफ्ना कुरा सुनाएर आनन्द लिने नेताहरुलाई कार्यकर्ताले वोलेको, औला ठडाएको चित्त बुझेन । त्यसैले सामाजिक सञ्जालको माध्यमवाट अभिब्यक्ति दिएका कार्यकर्तालाई साइवर सेना भनेर होच्चाउने काम पनि भएका छ । यो जनसभाले उनीहरु साइवर स्याल मात्र हैनन् । वास्तविक सूचनाका वाहक हुन् र उनीहरुले भनेका कुराको अर्थ रहन्छ भन्ने कुराको सन्देश दिएको छ ।
८. लुम्विनी प्रदेशमा पार्टी विभाजन भएको छैन :
लुम्विनी प्रदेश पार्टीका महासचिव विष्णुप्रसाद पौडेल र प्रभावशाली तथा वैचारिक स्थायी कमिटी सदस्य लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको कर्मभूमि हो । पार्टी एकीकरणमा महासचिव पौडेलको भूमिका निर्णायक थियो । त्यति मात्र हैन पछिल्ला संकटग्रस्त दिनमा पार्टीलाई एक ढिक्का वनाउन पौडेल र पोख्रेल उत्तिकै लागे । दुवै नेता विवाद समाधान समितिमा रहेर प्रतिवेदन पेश गरे । जसलाई आत्मसात गरेको भए यो दुर्भाग्यपूर्ण अवस्था आउनेनै थिएन ।
संघीय सरकारको रुपमा पौडेल लोकप्रिय अर्थमन्त्रीको रुपमा स्थापित हुनु भएको छ । सातवटै प्रदेशमध्ये पोखैलले नेतृत्व गरेको यो प्रदेशनै उत्कृष्ट रहि आएको छ । आ–आफ्ना ठाउँमा अब्बल दर्जा कायम गरेका यी दुवै नेताको कर्मभूमिमा पार्टी विभाजन भएको छैन भन्ने सन्देश जनसभामार्फत दिन सक्नु आफैमा सुखद कुरा हो । यसले राष्ट्रिय रुपमै विशेष अर्थ राखेको छ ।
प्रतिक्रिया दिनुहोस्