काठमाडौं, फागुन ७
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको बाटोलाई कसैले पनि मिच्न नसक्ने बताउनु भएको छ । उहाले सरकारले लोकतन्त्र र संविधानलाई नमिच्ने र मिच्न नदिने समेत स्पष्ट पार्नुभएको छ ।
लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको समेत स्पष्ट पार्नुभयो । ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो विराउदैन, संविधान मिच्दैन, मिच्न दिदैन । जनताको अभिमत भन्दा विपरित जादैन र जान दिदैन’, उहाको भनाई छ ।
७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूभित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको बताउनु भयो ।
‘प्रणलीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोबाट धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न नदिन निर्वाचनमा जानु परेको छ । यसमा सबै निकायले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट नहोस’, संवैधानिक अंगका प्रमुखहरु समेत उपस्थित भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सोही अवसरमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गर्नुभयो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्