जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार १२:४८

मतदाता नामावली अध्यावधिक फागुनको तेस्रो साताभित्र


काठमाडौं, फागुन ९

निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो साताभित्र गर्ने भएको छ । बैशाख १७ र २७ गतेको निर्वाचनका लागि आयोगले नामावली अध्यावधिक गर्न लागेको हो ।

वैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो साताभित्र नामावली अध्यावधिक गर्ने काम सम्पन्न गर्ने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । चुनावको तयारीअनुसार आयोगले अहिले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम गरिरहेको छ ।

राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्ने–नराख्ने, निर्वाचन खर्चलगायतबारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आयोगले सुझावलाईसमेत समेटेर स्वीकृत गरेपछि आचारसंहिता लागू हुनेछ । आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

केही दिनमै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले निर्वाचन निर्देशिका बनाउने काम पनि गरिरहेको र त्यसका लागि अध्ययनको काम भइरहेको जानकारी गराएको छ ।

यसैबीच, चुनावअघि नै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्नुपर्ने भएकाले आयोगले छिट्टै नेकपाको विवाद टुङ्ग्याउने गरी काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।