जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १५:४६

विप्लवले राखे कम्युनिष्ट पार्टीबीच सहकार्यको प्रस्ताव


काठमाडौं, फागुन २१

शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्नुभएका नेत्रविक्रम चन्द विप्लवले देशभक्त कम्युनिष्ट पार्टीबीच सहकार्यको प्रस्ताव गर्नुभएको छ । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै उहाले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा समेत दिनुभयो ।

उहाले आफुहरु नेपाल बनाउने चाहान भएको भन्दै त्यसको अगुवाई गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गर्नुभयो । ‘तपाईहरुले नेतृत्व गर्नुहोस्, हामी कसैलाई पिडाएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथी हमला गरेर होइन्, हामी नेपाली जनताको श्रममाथी उभिएर आफ्नो देश बनाउन चाहान्छौं । हामी बनाउछौं, त्यसको नेतृत्व हामी गरौं’, विप्लवको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको बताउदै उहाले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको स्पष्ट पार्नुभयो । ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन्’, उहाको भनाई थियो ।

सम्बोधनका क्रममा महासचिव विप्लवले तीन बुँदे सहमति कार्यन्वयनमा नेकपा प्रतिबद्ध रहेको बताउनु भयो । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उहाले भन्नुभयो ।