जनता टाइम्स

२४ फाल्गुन २०७७, सोमबार १४:१८

मोरङको नेकपाको कार्यलयमा राखियो एमालेको बोर्ड


विराटनगर, फागुन २४

सर्वोच्च अदालतको आदेशको भोलीपल्टै मोरङस्थित तत्कालिन नेकपाको पार्टी कार्यालयमा राखिएको बोर्ड हटाइएको छ । त्यहा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामको बोर्ड राखिएको छ ।

सोमबार एक कार्यक्रमका बीच एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गर्दै यो ऐतिहासिक अवसर भएको बताउनु भयो ।

एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ । कार्यक्रममा केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गर पनि त्यसले काम गर्न नसकेको बताउनु भयो । खासगरी प्रचण्डका गतिविधिले गर्दा नै धेरै व्यवधानहरु आएको बताउदै अब सर्वोच्चले बाटो तय गरिदिएको स्पष्ट पार्नुभयो ।

केन्द्रीय सदस्य विनोद ढकालले एउटा लक्ष्यसाथ केपी ओलीले पार्टी एकता गरे पनि त्यसमा धेरै नेता मनबाटै जोडिन नसकेको बताउँदै भनुभयो, ‘अब पनि आउन चाहनेलाई स्वागत गर्ने दिशामा एमाले नै अघि बढ्नुपर्छ । ढोका बन्द गर्नु हुँदैन ।’