जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार १०:५०

माओवादीको स्थायी कमिटी बैठकमा एमालेका नेता भीम रावलको प्रवेश !


काठमाडौं, फागुन २९

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेकपा एमालेका नेता भिम रावल प्रवेश गर्नुभएको छ । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सो पार्टीको स्थायी कमिटीको बैठक चलिरहँदा नेता रावल त्यहा पुग्नु भएको थियो ।

कुनै पनि पार्टीको बैठक चलिरहेका बेला विगतमा सँगै सहकार्य गरेका अर्को दलका नेता पुग्नुलाई अनौठो मानिएको छ । बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा रावलको ९ः३० बजे इन्ट्रि भएको थियो । नेता रावल १० बजे पेरिसडाँडाबाट बाहिरिनु भएको थियो । उहाले पार्टी कार्यालय बाहिर सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिनु भएनन् ।

एमालेमा छुट्टै गुट चलाईरहेको नेपाल समुहले समानान्तर गतिविधि गर्ने तयारी गरिरहेका बेला रावल माओवादी केन्द्रको कार्यालयमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रावल बाहिरिएपछि माओवादीले सरकारमा सहभागी आफ्ना नेतालाई फर्कन र २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

बैठकले माओवादी केन्द्रका तर्फबाट सांसद रहेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । माओवादीका सांसदहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह, श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् । यी नेताहरू माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरिसकेका भएपनि कारवाही प्रक्रिया अगाडि बढाउन माओवादी केन्द्रले औपचारिक निर्देशन दिएको हो ।

यसैबीच, बैठकले चैत १ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक यथावत राख्दै चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ । माधव नेपाल समुहले ४ गते भेला बोलाएपछि माओवादी केन्द्रले स्थगित गरेको हो ।