जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार १९:३२

सञ्चारमन्त्री गुरुङको उदघोष : प्रचण्डको निर्देशनमा एमाले समाप्त पार्ने माधव नेपालको योजना किमार्थ पूरा हुन दिइन्न


काठमाडौं, फागुन २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पेरिसडाँडामा मन राखेर धुम्बाराहीलाई समाप्त पार्ने माधव नेपालको योजना किमार्थ पूरा हुन नदिने प्रष्ट पार्नुभएको छ । सर्वाेच्चको फैसलापछि एमालेमै फर्कने निर्णय लिएर पनि माधव नेपालले माओवादीकै आदेशपालक बनेर काम गरिरहेको भन्दै मन्त्री गुरुङले यस्तो अठोट गर्नुभएको हो ।

‘कोही भ्रममा नपरौं, हाम्रो पार्टी एमालेले कुनैपनि नेतालाई कार्वाही गरेको छैन, तर पेरिसडाँडा –माओवादी केन्द्र) को योजनाअनुसार धुम्बाराही (एमाले) लाई समाप्त पार्ने योजना कदापी पूरा हुन दिइने छैन, साँच्चीकै एमालेमै फर्किएको हो भने पेरिसडाँडासँगको सम्बन्ध बिच्छेद जरुरी छ,’ प्रैस चौतारी नेपाल बागमति प्रदेश भेलामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले प्रचण्डले एमाले सकाउने योजनासहित माधव नेपाललाई पठाइएको भनेर सार्वजनिक अभिब्यक्ति दिँदासमेत नेपाल केही नबोलेकोमा कडा आपत्ति जनाउनु भयो । प्रचण्डको भनाईले उहाँहरु एमालेलाई समाप्त पार्ने योजनाका साथ आउनु भएको प्रष्टै छ, होइन भने किन खण्डन गर्नुहुन्न ?’ मन्त्री गुरुङको प्रश्न थियो । उहाँले मुलुकमा अहिले देखिएको अवस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद बिघटन र ताजा जनादेशको निर्णय सही सावित गर्दै गएको बताउनु भयो ।

मन्त्री गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने ठोकुवा पनि गर्नुभयो । दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएको मन्त्री गुरुङको भनाई छ । ‘गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन, मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्नु ठूलो कुरा हो,’ मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताउनुभयो । ‘सरकार, पार्टी नेतृत्व र कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,’ मन्त्री गुरुङले भन्नुभयो, ‘बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ ।’

प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताउनुभयो ।

चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दिगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनु भएको योजनालाई सफल पार्न आम नागरिकलाई सुसुचित गर्ने उदघोषसहित १९ बुँदे घोषणापत्र जारी गरेको छ ।