जनता टाइम्स

९ चैत्र २०७७, सोमबार ११:३१

राष्ट्रपति भण्डारीलाई बंगलादेशमा रेड कार्पेट, समकक्षीद्वारा विमानस्थल पुगेर स्वागत


काठमाडौं, चैत्र ९

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको राजधानी ढाका पुग्नु भएको छ । उहालाई विमानस्थलमा रेड कार्पेटमा स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित हुनु भएको थियो । त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुग्नु भएको छ ।

नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन ।