काठमाडौं, चैत ३० । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले समानान्तर गतिविधि जारी राख्ने र पार्टीमाथि धावा बोल्ने क्रम नरोके ठेगान लगाउने चेतावनी दिनुभएको छ । एमाले भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलामा बोल्दै अध्यक्ष ओलीले प्रचण्डसँग मिलेर आफूहरुलाई निष्कासन गरेको शैली माधव नेपालले अहिले पनि कायमै राखेको भन्दै पार्टीमाथि धावा बोले ठीक लगाउने चेतावनी दिनुभएको हो ।
उहाँले माधव नेपाल सुध्रने अपेक्षासहित अझै पनि उहाँलाई पार्टीको सदस्यबाट निश्कासन नगरी निलम्वन मात्र गरिएको प्रष्ट पार्नुभयो । विगतका अपराधप्रति पश्चाताप गर्दै जनतासमक्ष उभिएर माफी मागेमा माधव नेपाललाई एमालेमा काम गर्न दिइने जानकारी पनि अध्यक्ष ओलीले दिनुभयो । ‘समूहगत छलफल हुँदैन । व्यक्तिगतरूपमा माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस । तर, पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ, तपाईंहरूलाई मात्र होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपाल आफै सांसद बन्न नसक्ने ठोकुवा गर्दै कसलाई टिकट दिने भन्दै प्रश्न गर्नुभयो । ‘आफै सांसद बन्दैनन्, कसलाई टिकट दिने ?’ ओलीले भन्नुभयो, ‘एमाले बलियो बनाउने भन्दै जिल्ला–जिल्लामा अर्को पार्टी बनाउँदै हिँडेका छन् । मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अहिले फेरि चारजना साथीहरूलाई हटायौं भन्दैछन रे । ठीक छ धित मार, निकाल्ने रहर पुर्याऊ । हामीले टाँसिदिएको जुँगा अलि दिनपछि हामी निकाल्दिन्छौं । एमाले बाहेक सबैसँग मिल्ने भनेर हिँडेका छन्, यो मौका आउँदैन जे गर्ने हो गरे हुन्छ ।’
माधव नेपालले आफूलाई समर्थन गर्नेहरुलाई आउने चुनावमा टिकट पक्का भन्दै हिँडेकोमा पनि उहाँले कडा ब्यंग्य गर्नुभयो । उहाँले माधवको सो भनाईलाई कोट्याउँदै बसपार्कको टिकट बाँड्ने हैसियत पनि माधवसँग नरहेको ठोकुवा गर्नुभयो । ‘एउटा हल्ला छ, केपी ओलीले टिकट नदिए चिन्ता नगर्नुस म दिन्छु । टिकट त बसपार्कमा फालाफाल छ त । त्यो पनि उहाँले सक्नुहुन्न । तर उहाँले अब एकजना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्