कपिलबस्तु, बैशाख ४ । तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने संगठित गिरोहलाई पक्राउ प्रहरीले गरेको छ। कपिलवस्तु प्रहरीले प्रहरीले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गरेको हो ।
दुई साता बढीको अनुसन्धानपछि प्रहरीले महिलाको हत्या तान्त्रिक प्रयोजनको लागि औंला बिक्री गर्ने योजनाका साथ भएको पत्ता लगाएको हो। कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीले लामो अनुसन्धानपछि हत्या गर्ने र औंला राख्ने सबैलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमानसँगै शुद्धोधन ५ का ५५ वर्षिय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका वडा नं १ बनकट्टाका ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ल रहेका छन् ।
प्रहरीका अनुसार तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा प्रति औंला ८० लाखसम्म बिक्री हुने भन्दै संगठित गिरोहले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ मनहरपुर बस्दै आएकी सरजहा दर्जीको हत्या गरेको पाइएको छ । गत चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं। ६ स्थित बेतिया नदिमा एक महिलाको शव हत्या गरि फालेको अवस्थामा फेला परेको थियो।
शव खोलामा डुबोस् र कसैले पत्ता नपाओस् भनेर हत्यामा संलग्नले बोरामा ढुंगा समेत राखेर शवलाई राखेर फालेका थिए। स्थानीयले बोराभित्र राखिएको शव खोलामा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोलाबाट निकाल्दा शव सडिसकेको थियो भने हातका औंलाहरु काटिएको अवस्थामा थिए । प्रहरीले शुरूमा शव कसको हो भन्ने पहिचान गराउन सकेन। अनुसन्धान गर्दै जाँदा उक्त शव रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ मनहरपुर बुडन्तपुर माईती भएकी ४२ वर्षिय सरजहां दर्जीको भएको पत्ता लाग्यो। दर्जीको कपिलवस्तुको महाराजगञ्जमा विवाह भए पनि श्रीमानको मृत्यु भएपछि विगत १२/१३ वर्षदेखि माईतीमा बस्दै आएकी थिइन् ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरका अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानसँग लामो समयदेखि चिनजान थियो । गत चैत १२ गते अब्दुल र बेलाले दर्जीलाई फोन गरी शुद्धोधन वडा नं. ३ हर्दिहवा बोलाए ।
पुरानै चिनजान भएका व्यक्तिहरुले बोलाएपछि उनी हर्दिहवा गईन्। त्यहाँ पुग्दा साँझ पर्दै थियो । केहि बेर बेतिया नदि छेउको चौरमा कुराकानी गरेर बसे। राति ९ बजेतिर महिला कुराकानीमा भुलिरहेको मौका छोपी दुवैजनाले उनको घाँटी थिचेर बसे। घाँटी थिचेको केहिबेरपछि महिलाले चलमलाउन बन्द गरेपछि उनिहरुले दुवै हातका दशवटै औंला काटेर प्लाष्टिकमा राखे। रात परिसकेकोले हतारहतार शवलाई बोरामा हालेर खोलामा नतैरियोस् भनी ढुंगा समेत राखेर फालिदिए। पक्राउ परेकाले मानिसको एउटै औंलालाई ७०/८० लाख रूपैयाँसम्ममा विक्री हुने भन्दै महिलाको हत्या गरि औंला काटेर राखेको बताएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्