काठमाडौं, बैशाख ४ । सभामुख अग्नि सापकोटाको भुमिकालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस पनि आक्रोशित बनेको छ । अमेरिकी सहायता परियोजना (एमसीसी) सहितका सरकारले संसदलाई दिएको बिजनेश रोकेर राखेपछि कांग्रेस सभामुख सापकोटाप्रति आक्रोशित बनेको हो ।
कांग्रेसले सभामुखको भुमिका सही नरहेको निश्कर्षसहित अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट चाँडो पास गराउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नरोक्न र चाँडो पास गर्न आग्रह गर्नुभयो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस बरिष्ठ नेता पौडेलले सभापति देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको एमसीसी पारित हुनुपर्ने धारणा आफूहरुले राखेको प्रष्ट पार्नुभयो । ‘हामीले आफ्नो कुरा प्रष्टसँग राखेका छौं । एमसीसी शेरवहादुरजीको पालामा भएको हो । त्यसमा आपत्तिजनक कुरा छन भने छलफल गरौं । होइन भने संसदबाट चाँडो पास हुनुपर्छ भन्ने हाम्रो कुरा हो, आजको बैठकमा यही धारणा राखेका छौं,’ पौडेलले भन्नुभयो । सभामुख सापकोटाले लामो समयसम्म एमसिसी रोकेर संसदलाई नै बन्दी बनाउनु भएको छ ।
सत्तारुढ एमालेसहित प्रमुख प्रतिपक्षी कांग्रेस एमसिसी पारित गर्ने पक्षमा उभिएपछि सभामुख सापकोटाले संसद बैठकमा पेश नै नगरी रोकेर राख्नुभएको छ । आजको बैठकमा कांग्रेसले कोभिड संक्रमण बढेको भन्दै नियन्त्रणका लागि लकडाउन बाहेकका विकल्प सोच्न पनि सरकारलाई सुझाव दिएको छ ।













प्रतिक्रिया दिनुहोस्