जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १९:३६

जसपा नेता पाण्डेको घोषणा : एमालेसँग सहकार्य गर्ने निर्णय नै आधिकारिक हो


रुपन्देही, बैशाख ८ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता आफू नै भएको दावी गर्दै नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेले एमालेसँग सहकार्य गर्ने निर्णय नै आधिकारिक भएको प्रष्ट पार्नुभएको छ । पाण्डेले विज्ञप्ति जारी गर्दै दलको बैठकले एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेकाले कोही कसैलाई भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पाण्डेले कांग्रेस र माओवादी केन्द्रले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको बताउनु भएको छ । ‘कुनै फरक प्रसङ्गमा भएका हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ । त्यसैगरी प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानाकारी गराउँछु’ पाण्डेको बिज्ञप्तीमा भनिएको छ ।

पाण्डेले भर्खरै हिउँदे अधिवेशन सम्पन्न भएको र बर्खे अधिवेशन छिट्टै बस्ने भएकाले विशेष अधिवेशन बस्न आवश्यक नभएकाले जनता समाजवादी पार्टीले अधिवेशनका लागि समावेदन नगरेको प्रष्ट पार्नुभएको छ । पाण्डेले एकीकरण भएपछि लुम्बिनीमा पार्टी समायोजन नभएकाले कारवाहीको हल्ला गर्नु आफैमा हाँस्यास्पद रहेको बताउनु भयो ।