जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार ०७:१३

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौं, बैशाख ९ । काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ ।

वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश ३ हुँदै प्रवेश गरेको हो । प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा रहेका महाशाखाले जानकारी दिएको छ ।

सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको र अन्य प्रदेशमा पनि केहीबेरमै पानी पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै बताइएको छ । दिउँसोतिर देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीका सम्भावनासमेत रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ ।