जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १६:१२

माओवादी छाडेर एमालेमै बसेका नेताले पाए महत्वपूर्ण जिम्मेवारी


रुपन्देही, बैशाख ११ । नेकपा एमालेले लुम्बिनी प्रदेशबाट माओवादी केन्द्र छाडेर आएका करिब आधा दर्जन नेताहरूलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएको छ । लामो समय माओवादी पार्टीमा काम गरेका नेताहरूलाई एमालेले सम्मानजनक जिम्मेवारी दिएको हो ।

आफ्नै पार्टीमा माधव नेपाल समूहले केही जिल्लामा समानान्तर कमिटी गठन गरेको र माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका नेताहरुलाई बढी आलोचनाको विषय बनाएकाले पहिलेदेखि नै अग्रपंक्तिमा रहेर काम गरेका नेताहरुलाई महत्वपुर्ण जिम्मेवारी दिइएको एमाले नेताहरुले बताएका छन । माओवादी त्यागेर एमालेमै रहने र एमालेमा आउन चाहने सवै नेताका लागि एमालेको यो कार्यबिभाजन निकै उत्कृष्ट रहेको पनि उनीहरुले बताए ।

यसरी जिम्मेवारी पाउनेहरू धेरै एमालेमा लागेकै कारण माओवादी केन्द्रले कारवाही गरी प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा लुम्बिनी प्रदेशबाट पदमुक्त भएका छन । उनीहरूले पदभन्दा पनि नेकपा एमालेलाई आफ्नो जिम्मेवारी रोजेका कारण पार्टीले विशेष जिम्मेवारी दिएको हो ।
एमालेले अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित हाल सो पदमुक्त हुनुभएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पार्टीको महत्वपूर्ण मानिने मोर्चा संगठनको इन्चार्ज बनाएको छ । एमालेमा मोर्चा संगठन निकै प्रभावशाली मानिन्छ । यस्तै खानेपानी मन्त्रीसमेत रहनुभएका प्युठानका पुराना नेता मणिचन्द्र थापालाई लुम्बिनी प्रदेशको सह–इन्चार्ज र खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

एमालेले आफ्नो कार्यबिभाजनमा कपिलवस्तुका पुराना नेता गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेशको सह–इन्चार्ज, रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भई हाल पदमुक्त हुनभएका नेता दधिराम न्यौपानेलाई रुपन्देहीको इन्चार्ज, अर्घाखाँचीबाट राष्ट्रिय सभा सदस्य भई हाल पदमुक्त हुनभएका नेता चन्द्रबहादुर खड्कालाई अर्घाखाँची इन्चार्ज बनाएको छ । यसैगरी गुल्मीबाट लुम्बिनी प्रदेश सभा सदस्य भई हाल पदमुक्त हुनभएका दिनेश पन्थीलाई गुल्मी इन्चार्ज र नविन रोकालाई रोल्पाको इन्चार्ज बनाइएको छ ।

अन्य पार्टी छोडेर आउनेहरूलाई विगतमा यस्तो महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन नभए पनि यसपटक एमालेले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गर्ने नेताहरूलाई महत्वपूर्ण भूमिकासहितको जिम्मेवारी दिएको हो । एमालेले अन्य प्रदेशका माओवादी छाडेर एमालेमा आएका नेताहरुलाई पनि प्राथमिकताका साथ जिम्मेवारी दिएको छ ।