जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १७:५९

सावधान ! कोरोना संक्रमितले भरिए अस्पतालका शैय्या : उपत्यकामा आउन सक्छ भयावह अवस्था


शरद शर्मा, काठमाडौं । कोभिड–१९ को संक्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्ैय्या भरिन थालेका छन । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालका शैैय्या भरिन थालेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख ३ गते ९ सय संक्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत संक्रमण दर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन, त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना संक्रमितले अस्पतालका हैय्या भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर संक्रमितले भरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ आइसोलेशन शैय्या पनि भरिएका छन । दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै संख्यामा बिरामी आउने गरेको राजभण्डारीले बताउनु भयो । उहाँका अनुसार अस्पतालमा संक्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरिएको छ । ‘हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौं, अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौ,’ राजभण्डारीले भन्नुभयो ।

संक्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि उहाँले आग्रह गर्नुभयो । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले संक्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको उहाँको भनाई छ । अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा संक्रमण सार्न सक्छ । उहाँले संक्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफँं सचेत हुनुपर्ने सुझाव दिनुभयो ‘अहिलेको भाइरसले संक्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ,’ उहाँले भन्नुभयो, ‘अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी संक्रमण देखिएको छ ।’

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको शैय्या भरिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । मुलुकभर एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष शैय्या, पाँच भेन्टिलेटर पूरै भरिएको बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० शैय्यामध्ये सबै भरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित बढ्दै गएपछि अस्पतालले आजबाट थप ४० शैय्या थप गर्न थालेको छ । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि संक्रमित रहेको सो अस्पतालले जनाएको छ । उहाँले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गाह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिनुभयो । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका रहेका छन ।

यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ जना संक्रमित रहेका छन् । उहाँले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक संक्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताउनुभयो । उहाँले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिनुभयो । संक्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको छ ।

त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु) मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । उहाँले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताउनुभयो । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उहाँले संक्रमित संख्या बढ्ने भएको ५० आइसोलेन शैय्या थपिन थालेको जानकारी दिनुभयो ।

शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले संक्रमण पहिलोभन्दा संक्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । उहाँले संक्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार कोभिड–१९ को अहिलेको लहरमा संक्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ९४ हजार ६०१ जना संक्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको मृत्यु भइसकेको छन । यस्तै मुलुकभर १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । संक्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जना मृत्यु हुने गरेको पाइएको छ । ५ सय भन्दाबढी संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके र रुपन्देही रहेका छन ।