जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार ०६:१५

बैतडीको लुहारपानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको पुष्टि : चार महिनामै प्लान्ट सञ्चालन गर्न सकिने


बैतडी, वैशाख १७ । बैतडीमा लुहारपानीमा भेटिएको दोस्रो फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम मिनरल्स प्राईभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा गत चैतमा बैतडीको सिगास गाउँपालिका–१ सुगरखालको लुहारपानीमा फलामखानी भेटिएको हो । सो फलाम खानीको परीक्षण गर्दा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको पुष्टि भएको हो ।

कम्पनीका अध्ययन टोली सदस्य मनदीप पौडेलले गोरखापत्र दैनिकका संवाददाता गोकर्ण दयाललाई बताएअनुसार माईन बिछ्याएर फलाम खोज तलास गर्दा ३८ प्रतिशत म्याग्नाईट आईरन भेटिएको हो । उहाँका अनुसार म्याग्नाइट आईरनमा पाईने ‘म्याग्नाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने गरेको छ । बैतडी–बझाङको जयपृथ्वी मार्गको बिन्द्रावनबाट तीन किलोमिटर दक्षिणमा फलाम खानी रहेको छ । फलामखानीबाट करिब ११ किलोमिट दूरीमा पर्ने पाटन नगरपालिका–८, खोड्पेसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।

‘अध्ययनको ८० प्रतिशत काम सकिएको छ । परीक्षणका लागि उत्खनन गरिएको म्याग्नाइटमा औसातमा ३८ प्रतिशत फलाम भेटिँदा हामी निकै उत्साहित भएका छौं,’ पौडेलले भन्नुभयो, ‘तर, खानी उत्खनन गरेर प्लान्ट स्थापना गर्नुअघि आवश्य भौतिक पूर्वाधार बाटो, बिजुली र खानेपानी छैन । सरकारले पहल चाल्ने हो भने बिजुली पनि टाढा छैन । बाटो त जम्मा तीन किलोमिटर मात्रै खन्नुपर्छ ।’

फलाम खानी उत्खननअघि आवश्यक भौतिक पूर्वाधारका निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको सो कम्पनीले जनाएको छ । ‘बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । तीन किलोमिटर सडक र ११ किलोमिटर टाढा रहेको बिजुली फलाम खानीसम्म पुर्याउन सके चार महिनामै प्लान्ट स्थापना गर्न सकिन्छ । प्लान्ट स्थापना गर्न पाँच मेघावाट बिजुली आवश्यक पर्ने देखिएको छ । त्यसका लागि सरकारले बिद्युत लाईन बिस्तार गर्न पहल गरिदए छिट्टै प्लान्ट स्थापना गर्ने छौं,’ सो कम्पनीका अर्का प्रतिनिधि कम्पनीका श्याम अधिकारीले भन्नुभयो ।

फलाम खानी भेटिएको आसपासकै क्षेत्रबाट चमेलिया जलुबिद्युतको ३० मेघावाट बिजुलीका तार सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरीया लगेर बैतडी जिल्लाका लागि हाल तीन मेघावाट बिजुली प्रदान गरिएको छ । फलाख खानीको प्लान्टलाई अवश्यक पर्ने पाँच मेगावाट बिजुलीका लागि तीन मेघावाट क्षमताको बिद्युतका उपकरणले धान्न नसक्ने भएकोले यो विषयमा प्रदेश सरकार र केन्द्र सरकारले चमेलियाको बिजुली के कसरी दिन सकिन्छ भन्ने विषयमा सर्वे गरेर निर्णय गर्नुपर्ने सो कम्पनीले बताएको छ ।

फलाम खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन कम्पनीले प्रदेश वन मन्त्रालय र सङ्घीय वन मन्त्रालयलाई अनुरोध पत्र पठाए पनि कुनै लिखित जवाफ आएको छैन । फलामखानी सञ्चालनमा आए स्थानीय र प्रदेश स्तरमा रोजगारी सिर्जना हुने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिं धामीले बाउनुभयो । फलामखानी अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको धामीको भनाई छ ।