जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १७:५४

निकासको खाकासहित देउवानिवासमा प्रधानमन्त्री ओली


काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुग्नुभएको छ । प्रतिनिधिसभामा बिश्वासको मत लिने निर्णयपछि एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली आज आफ्ना दलका चार नेतासहित कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा भेटबार्ताका लागि जानुभएको हो ।

आफ्नै पार्टीका नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीलाई जसरी पनि असफल पार्ने र सरकारबाट हटाउने अभियानमा प्रचण्डसहित देउवासँग बार्ता गरेको भोलिपल्ट प्रधानमन्त्री ओली देउवा निवास पुग्नुभएको हो । प्रधानमन्त्री ओलीसहित उपपधानमन्त्री तथा एमाले महासचिव इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, बादल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री बिष्णु पौडेल देउवा निवास पुग्नुभएको हो । देउवा निवासमा कांग्रेसको तर्फबाट सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय डा. सशांका कोइराला, पुर्णबहादुर खडका र सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी हुनुहुन्छ ।

दुई दलका नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको बिषयमा गहन छलफल भएको छ । सो भेटमा प्रधानमन्त्री ओलीले संसदमा आफूलाई बिश्वासको मत दिन वा अर्ली इलेक्शनको लागि सहमत हुन आग्रह गर्नुभएको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको सहमतिबिना नयाँ सरकार समेत बन्न नसक्ने अवस्था रहेकोले तथ्य राख्नुभएको छ ।