जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार १२:०४

माधवले सुनाए एमाले कार्यकर्तालाई निरास बनाउने बटमलाइन


काठमाडौं, बैशाख २४ । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताउनु भएको छ । नेता नेपालले आफ्नो फेसबुक पेजबाट संक्षिप्त विज्ञप्ति जारी गर्दै मा २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख गर्नुभएको हो ।

‘हामी वार्ता र लचकता दुवै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ,’ नेपालले भन्नुभएको छ । नेता नेपालकोयो बटमलाइन नेकपाताका केन्द्रीय सदस्य बनाइएका एमालेका युवा नेताहरुलाई पनि पदच्यूत गर्ने रहेको छ । यस्तै अध्यक्ष ओलीलाई साथ दिँदै नीति र नेतृत्वको पक्षमा दृढतापुर्वक उभिनुभएका नेकपा माओवादी केन्द्रका नेताहरुलाई समेत माओवादीमै फर्काउने सर्त उहाँले अघि सार्नुभएको हो ।

यस्तो छ नेपालको बिज्ञप्ती

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।