जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार १०:०४

विश्वासको मत नपाए पनि प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न : सुवास नेम्वाङ


काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि राजिनामा नदिने हुनुभएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो बिश्वासको मत नपाए पनि आज प्रधानमन्त्रीले राजिनामा नगर्ने जानकारी दिनुभएको हो ।

‘विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छ । बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम अगाडि बढ्नुहुन्छ,’ नेता नेम्वाङले भन्नुभयो । संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ । त्यस्तो अवस्था नदेखिएकोले सवैभन्दा ठूलो दलको अध्यक्ष र संसदीय दलको नेताको हैसियतले केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

‘विश्वासको मत प्राप्त नभए पनि प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न । राजिनामा गर्नुपर्ने संविधानमा व्यवस्था छैन,’ नेम्वाङले भन्नुभयो ‘विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ । अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्नुहुन्छ भन्ने व्यवस्था छ संविधानमा । त्यसै अनुसार प्रधानमन्त्री अगाडी बढ्नुहुन्छ । ’