जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १७:३४

उपत्यकाका अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरको छड्के


काठमाडौ, बैशाख ३०

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौका केही अक्सिजन उद्योगमा उत्पादन अबस्थाबारे अनुगमन गर्नुभएको छ । राज्यमन्त्री मानन्धरले ललितपुरको सगरमाथा अक्सिजन उद्योगमा पुगेर त्यहाँको उत्पादन अवस्थाबारे जानकारी लिनुभएको हो । उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधिकतम क्षमतामा उत्पादन गर्न निर्देशन दिनुभएको छ ।

कोरोना उपचारका लागि मुलुकभर अक्सिजनको अभाव भएको बताउँदै उहाँले जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन उत्पादन र वितरण सहज बनाउन सरकार लागि परेको बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले हरेक उपायसहित उपचार सहज बनाउनेतर्फ ध्यान दिएको भन्दै उहाँले संक्रमित हुनेको संख्या अधिक हुँदा बेड अभाव भएको सुनाउनुभयो ।

सरकारले सबै सरकारी अस्पतालहरुमा कोभिड उपचारको प्रवन्ध मिलाएको बताउँदै मानन्धरले निजी क्षत्रका अस्पतालहरुमा पनि सुलभ रुपमा नागरिकको उपचारको प्रवन्ध गर्न सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । मन्त्री मानन्धरले अक्सिजन अभावको समस्या केही दिन भित्रै समाधान हुनेगरी काम भइरहेको दाबी समेत गर्नुभयो । त्यस्तै अनुगमनको क्रममा उहाँले बालाजुमा रहेको अक्सिजन उद्योगमा पनि उत्पादन अवस्थाबारे फिल्डमा नै गएर बुझ्नुभएको छ ।

उहाँले अक्सिजन अभाव हुन नदिन सरकर लागिरहेको बताउँदै समस्या परेका नागरिकलाई (सीसीएमसी) सरकारले सञ्चालनमा ल्याएको हट लाइनमा फोन गर्न तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो । अक्सिजनको समस्या समाधानका लागि सबैको पहल र सहयोग आवश्यक रहेको बताउँदै मउहाँले आफू समस्या समाधानका लागि फिल्डमा नै खटिएको बताउनुभयो ।