काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिनुभएको समयअगावै बिपक्षी कांग्रेस–माओवादी गठबन्धनले वैकल्पिक सरकार गठन संभव नभएको भन्दै वाकओभर दिएपछि प्रधानमन्त्री ओली नै पुनः प्रधानमन्त्री बन्नुहुने निश्चित भएको हो ।
राष्ट्रपति भण्डारीले आज राती ९ बजेसम्म बहुमतको सरकार गठनका दागि दावी गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो । राष्ट्रपतिले दिनुभएको समय भन्दा तीन घण्टा अघि नै कांग्रेस र माओवादीले बहुमतको सरकार गठन गर्न संख्या नपुगेको भन्दै सरकार गठनको दावी नै नगर्ने निर्णय लिएको छ । बिपक्षी गठबन्धनको सो निर्णयसँगै अब एमाले अध्यक्ष केपी शर्मा ओली नै सवैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो ।
प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार गठनको अभियानमा लागेको कांग्रेस र माओवादीले जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहमतिमा ल्याउन नसकेकै बेला एमाले नेता माधव नेपाल समुहले समेत राजीनामा नदिएप्छि बहुमत जुटाउन नसकेको हो । यतिबेलासम्मको खेलमा दुवै दलले बैकल्पिक सरकार गठन असंभव भएको निश्कर्षसहित राष्ट्रपतिकहाँ दावी लिएर नजाने निर्णय गरेको छ ।
राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस र माओवादीको बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ । यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्