जनता टाइम्स

१ जेष्ठ २०७८, शनिबार १६:२६

सरकारबिरुद्धको घेरावन्दी सकिएसँगै कोभिडविरुद्ध सक्रिय बने सवै सरकारी संयन्त्र, यस्तो छ नयाँ योजना


काठमाडौं, जेठ १ । केही समययताको राजनीतिक विवाद र खिचातानी चिर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्रले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध थप सक्रियता बढाएका छन । कोरोना महामारीबाट दैनिक २ सय भन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा शैय्या तथा अक्सिनजनको अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरूपमा कोभिडविरुद्ध आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेको हो ।

प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि शुक्रबार सिंहदरबारमा पदबहालीपछि कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन सबै मन्त्री र उच्च कर्मचारीलाई निर्देशन दिनुभएको थियो । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न, जनतालाई निराश हुन नदिन र कुनै अनियमितता हुन नदिन सचेतसमेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन, कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन, सरकारले कडाइका साथ कारबाही गर्नेछ ।’

तेस्रो पटक सवैभन्दा ठुलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा, ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले पदबहालीकै क्रममा कोरोनाबिरुद्धको लडाईं जित्ने गरी अघि बढन र कुनै कमजोरी हुन नदिन दिनुभएको निर्देशन सुनेर आफ्ना मन्त्रालयमा बहाली गर्न पुगेका मन्त्रीहरुले पनि कोभिड नियन्त्रणमा ध्यान केन्द्रित गर्ने उदघोषसहित मातहतका कर्मचारीलाई पनि सोहीअनुसारको निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले सम्पुर्ण ध्यान केन्द्रित गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं ।’ कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजकसमे रहनुभएका उपप्रधानमन्त्री पोखरेलले दैनिकजसो सिसिएमसीको बैठक, समीक्षाको आयोजना र अनुगमन तथा निर्देशन दिइरहनुभएको छ । केन्द्रमा हरेक दिन कुन मन्त्रालय र निकाय तथा तहले कोभिडविरुद्ध गरेका प्रगति तथा भएका समस्याको विवरण संकलन गरी योजना बनाउने बिषयमा जानकारी लिइने गरिएको छ ।

कोभिडको उपचार, रोकथाम र समन्वयमा प्रत्यक्ष जोडिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म कूल संक्रमित संख्या चार लाख ३९ हजार ६५८ र मृत्यु हुनेको संख्या चार हजार ६६९ पुगेको छ । हाल सक्रिय संक्रमित एक लाख सात हजार ३३६ छन । अहिले केन्द्र, प्रदेश, स्थानीय तहका साथै निजी क्षेत्र र नागरिक समाज सबैको ध्यान महामारी रोकथाममा केन्द्रित भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले पनि महामारी नियन्त्रण र नागरिकको ज्यान बचाउने बिषयमै आफू केन्द्रित हुने कामबाटै बताउनु भएको छ । पदबहालीकै क्रममा अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, नेपालगञ्जलाई गरी ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयको फाइल सदर गर्नुभएको छ । गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड–१९ संक्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिँदै वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न सुझाउनु भएको थियो ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई ‘डिमान्ड’ शुल्क छुट गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गर्नुभएको छ । विसं २०७८ वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमान्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजाने प्रस्तावमा सदर गरी मन्त्री रायमाझीले पनि कोभिड नियन्त्रणलाई नै पहिलो प्राथमिकतामा राख्नुभएको हो ।
बहालीको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिङबाट प्रभावित पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो । नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि उहाँले निर्देशन दिनुभयो । मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिशव एक हजार दिइने निर्णयको फाइल सदर गर्नुभएको छ ।

यसैगरी वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोरोना नियन्त्रणमै सवै संयन्त्र परिचालित हुन भन्दै कोरोना सङ्क्रमणले नागरिकको मृत्युपश्चात शव जलाउनका लागि पशुपति क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शव आइरहेकाले जलाउन दाउराको कमी हुन नदिन निर्देशन दिनुभयो ।
यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदेसस्थित कुटनीतिक नियोगलाई कोरोरा संक्रमणका लागि आवश्यक सहयोग जुटाउने कार्यसहित स्वास्थ्य सामाग्री सहयोगमा पहलकमदी लिने निर्णय गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिकलाई सही सूचना दिँदै कोरोनापीडितको मनोवल उठाउने गरी भुमिका निर्वाह गर्न र महामारी रोकथाममा सक्रिय हुने गरी आफ्नो मन्त्रालय अघि बढने बताउनु भएको छ ।

संक्रमणबाट बच्न नागरिकलाई सही सूचना सम्पे्रषण गर्नुका साथै रोकथाममा क्रियाशील हुने योजना उहाँले सुनाउनु भएको छ । यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ र अन्य मन्त्रीले महामारी रोकथाममा आफ्नो क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा चाँडै योजना तर्जुमा गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसो त पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा चीन र भारतका साथै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री ल्याउने कार्य भइरहेको छ ।

नयाँ सरकार गठन भई प्रधानमन्त्री ओलीले नै निरन्तरता पाउनु र उहाँले पुरानै टीमलाई पुनः मन्त्री नियुक्त गरी काम अघि बढाउन निर्देशन दिनुभएपछि कोरोना महामारी नियन्त्रण, रोकथाममा सवै निकाय सक्रिय बनेका हुन । बिगतमा रहेका कमीकमजोरीलाई समेत सच्याउँदै अव नागरिकको उपचार र महामारी नियन्त्रणको काम रफ्तारमा अघि बढने देखिएको छ ।