काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रशस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेकाले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न समय दिनुभएको हो । यसका लागि राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी पाँच बजेसम्म (२१ घण्टाका लागि) को समय दिनुभएको छ ।
उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।
प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ । फेरि पनि विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको वहुमत पेश गर्नुपर्ने हुन्छ । यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा मुुलुकमा चुनाव घोषणा हुनेछ । अहिलेसम्म जसपाको महन्थ ठाकुर पक्ष तटस्थ नै छ र ठाकुर पक्षको माग बमोजिम सरकारले विहीवारमात्रै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्ने निर्णय समेत गरेको छ ।














प्रतिक्रिया दिनुहोस्