जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार १९:०६

अखिलले गर्यो चुनावको स्वागत, सुनायो नक्सा प्रकाशनपछि प्रधानमन्त्रीविरुद्ध षडयन्त्र सुरु गरिएको निश्कर्ष


काठमाडौं, जेठ ८ । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ । अनेरास्वबियुका अध्यक्ष ऐन महरले आज बिज्ञप्ती जारी गर्दै चुनावमा जाने निर्णय सही रहेको भन्दै स्वागत गर्नुभएको हो ।

अखिल अध्यक्ष महरले चुच्चे नक्सा प्रकाशनदेखि जनपक्षीय काम गरेकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देसी बिदेसी प्रतिक्रियावादीको मिलमतोमा षडयन्त्र अघि बढाइएको र संसदलाई बन्धक बनाएकोले निर्वाचन सही रहेको अखिलको निश्कर्ष रहेको बताउनु भएको छ । वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकोले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने उहाँको भनाई छ ।

बिज्ञप्तीमा चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन सरकारसँग माग पनि गरिएको छ ।