काठमाडौं, जेठ १६
नेत्री कमला पन्तले ‘राष्ट्रिय महिला अधिकार दिवस’ को सन्दर्भमा प्राप्त उपलब्धीको रक्षाका लागि एकजुट हुन आव्हान गर्नुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा अधिकार पाएर मात्र नहुने भन्दै त्यसको परिणाममुखि कार्यान्वयनको पहल गर्न सँधै जुट्नुपर्ने बताउनुभएको हो ।
वि.स.२०६३ साल जेठ १६ गते तत्कालिन प्रतिनिधिसभाले आमाको नाममा नागरिकता, अंशमा समान हक र राजनीतिमा महिलाको ३३ प्रतिसत सहभागिता, महिलामाथि हुने हिंसाको अन्त्यलगायतको बुँदासहितको सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई राष्ट्रिय महिला अधिकारको दिवसका रुपमा मनाउँदै आएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन सांसद एवं राष्ट्रपति विद्यादेवी भण्डारीको उक्त प्रस्तावनाको समर्थकमध्येकी एक नेतृ पन्तले महिलाले अधिकार प्राप्त गर्न करिब एक शताब्दी अगाडिदेखिका महिला नेतृले आन्दोलन गर्दै अधिकार प्राप्तीको बाटोमा इट्टा थपेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेतृ डा. विमला राई पौडेलले महिला अधिकारको सन्दर्भमा उक्त सङ्कल्पसहित संविधानमा भएका व्यवस्थाले पारेको सकारात्मक पाटोबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा महिलामाथि विभेद हुने धेरै ऐन, कानुनको परिमार्जनको साथै स्थानिय तहमा ४० प्रतिसत महिला सहभागिता उपलब्धी हो, राजनीतिलगायत अन्य क्षेत्रमा पनि महिला सहभागिता बढाउँदै जानुवपर्नेमा जोड दिनुभयो ।
महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले नेपाली महिला अधिकारकर्मी, नेतृहरुले शताब्दीऔंदेखि अधिकारका लागि लड्दै आएको परिणामले प्राप्त अहिलेको उपलब्धीको रक्षा र कार्यान्वयनको लागि यस्ता दिवसहरुले पनि प्रेरित गर्ने विचार व्यक्त गर्नुभयो ।
आयोगका सदस्य कृष्णकुमारी खतिवडाले महामारीमा पनि सार्वजनिक पदमा सक्रिय महिलाप्रति लक्ष्यित र समाजमा भइरहेको लैङ्गिक हिंसाका घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउँदै यस विरुद्ध आयोगले सशक्त कदम चाल्ने बताउनुभयो ।
आयोगका सचिव मनोजकुमार आचार्यले तत्कालिन प्रतिनिधीसभाबाट महिला अधिकारको सङ्कल्प प्रस्ताव पारित भएको उपलक्ष्यमा मनाईरहेको तेस्रो राष्ट्रिय महिला अधिकार दिवसले लैङ्गिक हिंसाको अन्त्यको लागि क्रियासिल आयोगको काममा थप उर्जा थपिने विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्