जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १७:४३

एमाले र सरकारबिरुद्ध लाग्नेलाई ठेगान लगाउन युवा संघलाई इञ्चार्ज बस्नेतको निर्देशन


काठमाडौं, जेठ १७ । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरुलाई ठाउँका ठाउँ प्रतिवाद गर्न युवा संघका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

युवा संघ नेपालको केन्द्रीय सचिवालयको भर्चुअल बैठकमा बोल्दै युवा संघ नेपालका इञ्चार्जसमेत रहनुभएका बस्नेतले एमाले, केपी शर्मा ओलीविरुद्ध भ्रम फिँजाइएको भन्दै त्यस्ता तत्वहरूलाई युवा संघ नेपालले साइबर सेना बनाएर ठेगान लगाउनुपर्ने भन्दै प्रतिवादमा उत्रन निर्देशन दिनुभयो । ‘सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूलाई तह लगाउन हामी नै काफी छौं । सरकारको संरचना चाहिँदैन । हामीले तह लगाउनु पर्छ,’ बस्नेतले भन्नुभयो ।

उहाँले डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध भ्रम फिँजाउने, मध्यराति बालुवाटारमा गएर ओलीसँग सरकारको नेतृत्व माग्ने द्वैध चरित्रको भएको भन्दै अव सवै युवा संघका नेता कार्यकर्ता साइवर सेना बनेर भ्रम फैलाउनेलाई ठेगान लगाउनु पर्ने बताउनु भयो ।
बस्नेतले एमालेलाई सबल, सुदृढ बनाएर आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउन सक्षम हुनुपर्ने पनि बताउनु भयो ।