काठमाडौं, जेठ १७ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले तत्कालै गृहकार्य अघि बढाएको हो ।
अर्थ मन्त्रालयमा आज आयोजित छलफलमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागि समयतालिकासहितको कार्ययोजना बनाउन निर्देशन दिनुभयो । ‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नोस,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।’
अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न पनि निर्देशन दिनुभयो । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने जानकारी दिनुभयो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलगायतका मन्त्री र बिभिन्न मन्त्रालयका सचिवहरु उपस्थित हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्