काठमाडौं, जेठ २०
नेपालले आज सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोटका लागि चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे ताईपेसँग नेपाल प्रतिस्पर्धा गर्न लागेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताउनुभएको छ । ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।
उहाँले कुवेतको मौसममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले खेल जित्न चाहन्छौ । धेरै मैत्रीपूर्ण खेल पाएनौं तर हामीसँग युवा टिम छ । प्रतिभावान टिम र खेलाडीहरुलाई हामीले जोड, हौसला दिनुपर्छ ।’ नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर छ ।
समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ । ४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्