काठमाडौं, जेठ २१
सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बस्नेतलाई नियुक्त गरेको जानकारी दिनुभयो । मन्त्री गुरुङले काउन्सिलका अध्यक्षम बस्नेतलाई नियुक्ति पत्र समेत हस्तान्तरण गर्नुभएको छ ।
हिजो प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको हो । कानून व्यवसायीसमेत रहनुभएका बस्नेतसँग दैनिक पत्रिकामा काम गरेको अनुभव छ । यसअघि बस्नेतले नेपाल पत्रकार महासंघको चुनावमा महासचिवमा उम्मेदवारी दिनुभएको थियो । बस्नेत दुई वर्षयता खुलानेपाल अनलाइनको सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहनुभएको बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो । यसअघि उहाँ नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त हुनुभएको थियो । काउन्सिलको अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि काउन्सिल बोर्डले किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्ष तोकेको थियो ।
तर, सरकारले २६ साउनमा प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावलीमा काउन्सिलमा कार्यबाहक अध्यक्ष तोक्न सक्ने व्यवस्था गरेको थियो । त्यसपछिको मन्त्रिपरिषद्को अर्को बैठकले कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । तर, सरकारको निर्णयले काउन्सिलको स्वायत्तता नरहने भन्दै काउन्सिल सर्वोच्च गएको थियो ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ३ भदौमा नियमावलीको संशोधित नियम कार्यान्वयन नगरी प्रेस काउन्सिलमा भइरहेका अध्यक्षलाई हटाउने गरी काम नगर्न आदेश दिएको थियो । तर, श्रेष्ठको कार्यकाल सकिएपछि कार्यबाहक अध्यक्षका रूपमा गोपाल बुढाथोकी काम गर्दै आउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्