जनता टाइम्स

२२ जेष्ठ २०७८, शनिबार १४:५७

सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने


झापा, जेठ २२

सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन (आइओएम_ ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा. अमृत सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ ।

विश्व आप्रवास सङ्गठन (आइओएम) ले गत बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत पोखरेलले सो जानकारी दिनुभएको हो ।

उहाँले सबै स्थल सीमा नाका र त्रिभुवन विमानस्थलको हवाई नाकामा आवागमन गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँच गरी रेपिड डाइग्नोस्टिक टेस्ट (एन्टिजेन) विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको बताउनुभयो । उहाँले काँकडभिट्टा नाकामा हेल्थ डेस्कका लागि कोभिड डेडिकेटेड एम्बुलेन्स सेवा र सुविधासम्पन्न भवनको खाँचो औंल्याउनुभयो ।

उहाँका अनुसार हेल्थडेस्क भवन निर्माणका लागि सरकारले रु ५० लाख बजेट छुट्याएको छ । ‘२१ औं शताब्दीमा नयाँ नयाँ रोगहरु आउँछन्, पुराना रोगहरु पनि फर्केर आइरहेका छन्’ डा. पोखरेलले भन्नुभयो, ‘‘कोभिडले पनि छिटै छोडिहाल्ला भन्ने देखिदैन । कोभिडसँगै जिउने कला हामीले सिक्न जरुरी छ ।’

स्रोत साधनको कमीले नाकाको व्यवस्थापन फितलो भए तापनि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीले जोखिम मोलेर कोभिड नियन्त्रणमा महत्वपूर्ण योगदान दिइरहेको उहाँको भनाइ छ । महाशाखाको टोलीले काँकडभिट्टा र पशुपतिनगर नाकाको निरीक्षण गरेको जनाएको छ । उहाँले समुदायले स्वास्थ्य मापदण्डको पालना नगरे आउँदो कात्तिकतिर कोभिड सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिनुभयो ।