जनता टाइम्स

२३ जेष्ठ २०७८, आईतवार १६:५४

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश


काठमाडौं, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले आज थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्तिलगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न अदालतले आदेश दिएको हो । अदालतले ‘जुन मितिमा ह्वीप जारी गरेको र थापाले उल्लंघन गरेको भनेर कारवाही गरिएको हो, त्यसबेला मतदानको कुनै प्रयोजन नरहेको’ ठहर समेत अदालतले गरेको छ ।

आदेशमा वैशाख २७ गते हुने भनिएको मतदान कार्य मुख्यमन्त्रीको राजीनामा कारणले हुन नसकेकोले परिस्थिति नै परिवर्तन भएकाले वैशाख २९ गते सरकार निर्माणको दावी पत्रमा थापाले हस्ताक्षर गर्नुपर्ने भनी जारी भएको ह्वीपले काम गर्न नसक्ने जनाइएको छ । कुनै खास काम कारवाहीका लागि जारी भएको दलको निर्देशन सो खास कार्य हुन नसकी परिस्थितिमा परिवर्तन भएको स्थितिमा भएको कार्यबाट दल त्याग गरेको मानिने वा नमानिने भन्ने सन्दर्भमा गम्भीर कानूनी व्याख्याको प्रश्न भएको आदेशमा उल्लेख छ ।