जनता टाइम्स

२३ जेष्ठ २०७८, आईतवार १७:४९

स्वास्थ्यमन्त्री तामाङलाई निवर्तमान मन्त्री त्रिपाठीले सुनाए बिचौलियाको कथा


काठमाडौं, जेठ २३

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पदवहाली गर्नुभएको छ । आज उहाँले मन्त्रालयमा पुगेर पदवहाली गर्नुभएको हो । मन्त्रालयमा तामाङलाई स्वागत र त्रिपाठीलाई बिदाई गर्न आयोजित कार्यक्रममा निवर्तमान स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले आफू मन्त्रालयमा रहँदा भोगेका अनुभव सुनाउनुभएको थियो । त्रिपाठीले मन्त्रालयमा रहँदाका अनुभव र भावी दिन गर्नपर्ने विषयमा सुझाव दिनुभयो ।

कार्यक्रममा मन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिन नहुने कुरामा जोड दिनुभयो । उहाँले सचिवालयलाई धरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सचिवालयलाई धेरै छुट दिन हुन्न नत्र बिचौलिया पस्ने डर हुन्छ ।’ त्रिपाठीको कार्यकालमा खोप खरिदका क्रममा विवाद आएको थियो । उहाँले खोप खरिदका क्रममा बिचौलियाले अवरोध सिर्जना गरेको बताए पनि ति बिचौलियाका बारेमा भने सार्वजनिक गर्नुभएको थिएन ।

खोप खरिदका विषयमा बिचौलियाले खेलेका कारण नेपालमा भारतको सेरम इन्स्टिच्युटबाट खरिद गर्ने भनिएको ५० लाख डोज खोप खरिद प्रक्रिया रोकिएको थियो । यस्तै नेपालले रकम भुक्तानी गरिसकेको १० लाख डोज खोप पनि आउन सकेको छैन । मन्त्री त्रिपाठीले कामका क्रममा आफूले केही कडा बोलेको स्वीकार गर्नुभयो । उहाँले माताहत निकायका कर्मचारीसँग अन्य नियतले नभइ कामकै सिलसिलामा कडा बोलेको पनि सुनाउनुभयो ।