जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १५:०३

बागमतिमा एकजुट बन्यो एमाले, यस्तो छ एकतालाई बलियो बनाउने निर्णय


हेटौंडा, जेठ २९ । बागमति प्रदेशमा नेकपा एमाले एकजुट बनेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सवालमा माधव नेपाल पक्षीय सांसदहरु संस्थापनसँगै उभिएका हुन ।

आज बिहान बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र उहाँसँग पराजीत माधव नेपाल पक्षधर नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिनुभएको छ । शाक्यले सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहौल बनोस र त्यसको उदाहरणीय काम बागमतिबाटै सुरू होस भनेर सन्देश दिन आफूहरू एक भएको बैठकमा बताउनु भयो ।

नेतृ शाक्यले आफूहरूलाई मुख्यमन्त्रीले सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको जानकारी पनि बैठकमा गराउनुभएको थियो । बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्नायोग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालेको मुख्यसचेत दीपक निरौलाले जानकारी दिनुभयो ।