काठमाडौं, असार १
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ । उहाँका विरुद्धमा लगाइएका आरोपहरुमाथि हिजोबाट सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ वर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरू लगाएको थियो । उहाँसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्धाहरू लगाएको छ ।
हिजोको सुनुवाइकामा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित भएको जनाइएको छ । सूकीका एक वकिल खिन मौङ जावका अनुसार अनावश्यक रूपमा यो झमेला झेलिरहनु परेको र त्यसविरुद्ध आफूहरुले राम्रो तयारी गरिएको छ ।

नेतृ सूकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोपहरू लगाएको उहाँको टिप्पणी छ । म्यानमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरुद्धमा नयाँ आरोपहरू सहितको मुद्दा दर्ता गरेको थियो ।
गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई म्यानमारमा नियन्त्रणमा लिएको थियो । नेताहरुलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो । सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । एजेन्सी













प्रतिक्रिया दिनुहोस्