जनता टाइम्स

१ असार २०७८, मंगलवार १३:३८

पहिराले कर्णाली राजमार्ग अवरुद्ध


मान्म, असार १

लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ ।

आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।’ उहाँले भन्नुभयो, ‘वर्षा नरोकिएका कारणले पहिरो पन्छाएपनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ ।’