काठमाडौँ, १ असार । गृहमन्त्री खगराज अधिकारीले नेपालको राजनीति प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वरिपरी दशकौं घुम्ने बताउनुभयो ।
गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा कुरा गर्दै मन्त्री अधिकारीले पछिल्लो समयमा प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम मुलुक र जनताको हितमा रहेको बताउनुभयो । मुलुक र जनताको विकास प्रतिको चाहनालाई पुरा गर्दै गएकोले जनताको रोजाई तथा मुलुकको आवश्यकता नै प्रधानमन्त्री ओलीको नै भएको दावी गर्नुभयो । नेपाललाई विकास र समृद्धिको यात्रामा लैजान प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिका, राष्ट्रिय तथाा अन्तराष्ट्रिय मुलुकहरुसँगको सम्बन्धका कारण समेत अबको दशकौंसम्म ओलीको वरिपरी नेपालको राजनीति घुम्ने लगभन निश्चित जस्तै भएको उहाँले बताउनुभयो ।
निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउँदै मन्त्री अधिकारीले निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको जानकारी गराउनुभयो । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले सिमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई सो कुरा बुझिदिन आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटेजीका साथ निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडि बढ्न रोकिनुपर्ने केही कारण छैन । सबै तयारी छ । आवश्यक लजिष्टिकदेखि लिएर जनशक्ति विन्यासदेखि लिएर सुरक्षा प्रबन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ । यसको कार्यान्वयनको सम्बन्धमा दलहरूसँगको एउटा सहमति, सहकार्यपछि अगाडि बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन । तोकिएको मितिमा चुनाव गर्न हाम्रो मन्त्रालय पूर्ण रुपमा तयारी हालतमा छ । नेपालीहरु सिमाको आफ्नो सार्वभौमिकता बारे अत्यन्तै संवेदनशील छन् । जसरी अरु देशहरु संवेदनशील छन् । त्यसरी नेपालीहरुको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहान्छौँ । हामी हाम्रो सीमा रक्षाका लागि अरुले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहान्छौँ ।’













प्रतिक्रिया दिनुहोस्