पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारका मन्त्री दपिक मनाङ्गेले प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जबाफ मागेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिश्वासको मत लिन आज बसेको गण्डकी प्रदेश सभा बैठकमा एमाले प्रमुख सचेतक माथानाथ अधिकारीले मनाङ्गेको आपत्तिजनक भनाईबारे सरकारको जवाफ माग्नुभएको हो ।
पोखरेल नेतृत्वको सरकारमा बिनाबिभागीय मन्त्री बनेलगत्तै मानाङ्गेले प्रधानमन्त्री ओलीको स्वास्थ्यसँग जोडेर आपत्तिजनक टिप्पणी गर्नुभएको थियो । एमालेले मनाङ्गेको सो टिप्पणीप्रति कडा आपत्ति जनाएको छ । आजको प्रदेशसभा बैठकमा एमालेका सचेतक अधिकारीले मन्त्री गुरुङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको नीजि धारणा हो भन्दै जवाफ माग्नुभयो ।
प्रमुख सचेतक अधिकारीले कांग्रेसको सरकार गठन भएगत्तै सांसद र नेताहरुले धम्क्याउन थालेको भन्दै कडा आपत्ति पनि जनाउनु भयो । हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो । मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेस सांसद् मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुन्छ भन्दै धम्क्याउनु भएको थियो । अधिकारीले सोही बिषयलाई उठाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्