जनता टाइम्स

८ असार २०७८, मंगलवार १६:२४

डब्ल्युएचओको दाबी – कोभिसिल्ड खोप लगाएकाले दोस्रो डोज भेरोसिल लगाउँदा झनै प्रभावकारी


काठमाडौं, असार ८

कोभिड विरुद्धको दुई डोज खोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिसिल्डको पहिलो डोज लगाउनेले दोस्रो तथा अन्तिम डोजका रुपमा भेरोसिल लगाउन सकिने बताएको छ । पछिल्लो अनुसन्धानले दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएसँगै डब्ल्युएचओ कोभिसिल्ड लगाएकाहरुले भेरोसिल लगाउँदा झन प्रभावकारी हुने भएको जनाएको हो ।

नेपालमा कोभिसिल्ड लगाइएकाहरुलाई भने यो खुसिको खवर हो । अहिले विभिन्न देशमा खोप अभियान तीव्र पार्नका लागि फरक–फरक कम्पनीका खोपको परीक्षण समेत गर्न थालिएको छ । दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध लड्न प्रभावकारी हुने देखिएको डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले बताउनुभयो । नयाँ शोधबाट पहिला एक कम्पनीको लगाएर सोही कम्पनीको भ्याक्सिन कुरेर बसेका व्यक्तिका लागि अब सहज अवस्था आएको देखाएको उहाँको दाबी छ ।

यसअघि पनि वैज्ञानिकहरुले फरक–फरक कम्पनीको भ्याक्सिन लगाउन सकिने बताए पनि प्रयोगमा आएको थिएन । दुई खाले भ्याक्सिनले जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या भने हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । बेलायत, स्पेन र जर्मनीलगायत मुलुकमा यस्तो समस्या देखिएको थियो । अलग–अलग कम्पनीको भ्याक्सिनले यस्तो इम्युन सिस्टम बनाएको छ, जसले उच्च स्तरको एन्टिबडी र ह्वाइट ब्लड सेल्स निर्माण गरिदिन्छ ।